दफा २२
आकस्मिक निरीक्षण
(१) सर्वोच्च अदालतले आफ्नो अदालतको न्यायाधीश खटाई उच्च अदालत र जिल्ला अदालत, उच्च अदालतले आफ्नो अदालतको न्यायाधीश खटाई मातहतका जिल्ला अदालत वा न्यायिक वा अर्धन्यायिक निकाय वा अधिकारीको कार्यालयको र जिल्ला अदालतले आफ्नो अदालतको न्यायाधीश खटाई आफूले पुनरावेदन सुन्ने निकाय वा अधिकारीको न्यायिक काम कारबाहीको आकस्मिक निरीक्षण गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निरीक्षण गर्ने न्यायाधीशले निरीक्षणबाट देखिन आएको तथ्य खुलाई निरीक्षण प्रतिवेदन सर्वोच्च अदालत, न्याय परिषद, सम्बन्धित उच्च अदालतमा र अर्धन्यायिक निकाय वा अधिकारीको कार्यालयको निरीक्षण गरेकोमा त्यस्तो प्रतिवेदन सम्बन्धित मन्त्रालय र प्रदेश सरकारको कारबाही गर्न अधिकारप्राप्त सम्बन्धित निकायमा समेत दिनु पर्नेछ ।
(३) सर्वोच्च अदालतले कुनै निकाय वा अधिकारीबाट मुद्दा मामिलामा भएको काम कारबाहीको आकस्मिक निरीक्षण गरी प्रतिवेदन पेश गर्न सर्वोच्च अदालत, उच्च अदालत वा जिल्ला अदालतको कुनै न्यायाधीशलाई खटाउन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम निरीक्षण गर्न खटिएको न्यायाधीशले निरीक्षणको काम सकिएपछि निरीक्षण तथा मूल्याङ्कन प्रतिवेदन तयार गरी त्यस्तो प्रतिवेदन सर्वोच्च अदालत र सम्बन्धित मन्त्रालय र प्रदेश सरकारको कारबाही गर्न अधिकारप्राप्त सम्बन्धित निकायमा पठाउनु पर्नेछ ।